काठमाडौं । एशियाली ऋण महासंघ (अक्कू) को आयोजनामा सदस्य संघ संस्थाको मुलुकका सहकारीका नियामक निकाय एवम् ससदस्य संघ संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरुको भर्चुअल गोलमेच बैठक आज सम्पन्न भएको छ । जुम प्लेटफर्ममार्फत आयोजित बैठकमा नेपाल, दक्षिण कोरिया र जापानको तर्फबाट सहकारी तथा साकोस अभियान, नियामक निकायको भूमिका र कानुनी व्यवस्थाहरु, अनुगमन, निरीक्षण लगायतका व्यवस्थाहरु समेटिएको प्रस्तुतिकरण गरिएको थियो ।
नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल सहभागी बैठकमा सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले नेपालको सहकारी तथा साकोस अभियान, सहकारीको संवैधानिक प्रावधान, बचत ऋण सहकारीहरुका कानूनी प्रावधानहरु, आन्तरिक लेखा परिक्षणको व्यवस्था, नेफ्स्कूनले साकोसहरुको गुणस्तर प्रमाणीकरणका लागि सञ्चालन गरेको स्तरीकरण कार्यक्रम, सहकारी ऐनमा व्यवस्था गरी पूर्ण सञ्चालनको संघारमा रहेको बचत ऋण सहकारीहरुका लागि स्थिरीकरण कोष, कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधिकरण लगायतका ऐन कार्यान्वयनका विविध विषयसँगै चुनौती र सम्भावनाहरुबारे अत्यन्त सान्दर्भिक प्रस्तुतिकरण गर्नुभएको थियो । उहाँले सहकारी विभाग नेपालको सहकारी अभियानको प्रवर्धन र विकासमा सहयोगी निकाय भएको बताउँदै अभियानका सरोकारवालाहरुसँगको सहकार्यमा जोड दिनुभयो ।
रजिष्ट्रार पण्डितले नेफ्स्कूनले सञ्चालन गरेको स्तरीकरण कार्यक्रमले साकोसहरुमा गुणस्तरीयता कायम गर्न सघाउ पुर्याएको, अक्कूको सहयोगमा सञ्चालित एक्सेस कार्यक्रमको महत्व तथा अक्कूले नेपालको साकोस अभियानको संस्थागत विकासमा खेलेको भूमिकाको समेत प्रशंसा गर्दै विभागमा एक महिना अघि मात्र आएको आफुलाई आजको कार्यक्रमबाट खासगरी एशियाली सहकारी तथा बचत ऋण सहकारी अभियान बुझ्न सहयोगी भएको धारणा राख्नुभयो ।
उहाँले आबद्धता तथा करारीय ऐक्यबद्धता, स्रोतहरुमा पहुँच र एकरुपता, कार्य सञ्चालनमा स्तरीयता र स्वनियमन र अनुशासन गरी नेफ्स्कूनको रणनीतिक मार्गचित्रमा समोवश बचत ऋण सहकारीका चार आयामहरुमा आधारित रही आफ्नो प्रस्तुतिकरण गर्नुभएको थियो ।