काठमाडौं । नेपालको बचत तथा ऋण सहकारी अभियानका अभ्यास, संस्थागत सञ्चालन तथा व्यवस्थापन प्रणालीको अध्ययन अवलोकन गर्न बंगलादेशबाट २० सदस्यीय सहकारी प्रतिनिधिमण्डल नेपाल आइपुगेको छ। बंगलादेशका क्रेडिट युनियनहरूको केन्द्रीय संघ द को-अपरेटिभ क्रेडिट युनियन लिग अफ बंगलादेश लिमिटेड (CCULB) को ३०औँ पारस्परिक अध्ययन अवलोकन भ्रमण (Mutual Exposure Visit) अन्तर्गत उच्चस्तरीय टोली नेपाल आएको हो।
नेपाल आइपुगेको प्रतिनिधिमण्डललाई नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का तर्फबाट तालिम तथा स्रोत केन्द्रका प्रमुख बल्लभ तिमल्सिनाले स्वागत गर्नुभएको थियो। स्वागतका क्रममा दुई देशबीचको सहकारी सम्बन्ध र पारस्परिक अध्ययन अवलोकन भ्रमणको निरन्तरताले अनुभव आदानप्रदान तथा संस्थागत सहकार्यलाई थप सुदृढ बनाउने अवसर प्रदान गरेको छ।
एक सातासम्म सञ्चालन हुने भ्रमण आगामी मंसिर २ गतेसम्म जारी रहनेछ। भ्रमणका क्रममा टोलीले नेपालका नौवटा बचत तथा ऋण सहकारी संस्था (साकोस), नेफ्स्कून तथा सहकारी रजिष्ट्रारको कार्यालयमा अध्ययन अवलोकन, भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यतालिका रहेको छ।
अध्ययन अवलोकन भ्रमण टोलीमा बंगलादेशको सहकारी क्षेत्र हेर्ने मन्त्रालयका उच्च अधिकारी, सहकारी विभागका रजिष्ट्रार, CCULB का सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतलगायत प्रारम्भिक सहकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको छ।
सरकारी निकाय, नियामकीय क्षेत्र तथा सहकारी अभियानका नेतृत्व र व्यवस्थापन तहका प्रतिनिधिहरूको संयुक्त सहभागितामा हुने भ्रमणले नेपालका सहकारी संस्थाहरूको व्यवस्थापन, सदस्यकेन्द्रित वित्तीय सेवा, संस्थागत सुशासन र सहकारी सञ्जालका अभ्यासबारे प्रत्यक्ष जानकारी लिने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
निर्धारित कार्यक्रमअनुसार प्रतिनिधिमण्डलले नेपालका नौवटा साकोसको स्थलगत अध्ययन अवलोकन गर्नेछ। भ्रमणका क्रममा सहकारी संस्थाहरूको सञ्चालन प्रणाली, वित्तीय सेवा प्रवाह, सदस्यसँगको सम्बन्ध, संस्थागत व्यवस्थापन तथा असल अभ्यासबारे सम्बन्धित संस्थाका प्रतिनिधिहरूसँग अनुभव आदानप्रदान गरिनेछ।
त्यसैगरी, नेफ्स्कूनमा हुने भेटघाट तथा अन्तरक्रियामा बचत तथा ऋण सहकारी अभियानको केन्द्रीय सञ्जाल, संस्थागत सुदृढीकरण, क्षमता विकास तथा सहकारी अभियानबीचको सहकार्यका विषयमा विचार आदानप्रदान गर्ने कार्यक्रम रहेको छ।
सहकारी रजिष्ट्रारको कार्यालयमा हुने भ्रमण तथा भेटघाटमार्फत नेपालको सहकारी क्षेत्रको नियामकीय संरचना, कानुनी व्यवस्था तथा नियमनसम्बन्धी अभ्यासका विषयमा जानकारी आदानप्रदान गर्ने अवसर रहनेछ।
नेफ्स्कून र CCULB बीच लामो समयदेखि सहकारी क्षेत्रको ज्ञान, अनुभव तथा असल अभ्यास आदानप्रदानका लागि पारस्परिक अध्ययन अवलोकन भ्रमण हुँदै आएको छ। यस सहकार्यअन्तर्गत बंगलादेशबाट सहकारी प्रतिनिधिहरूको टोली नेपाल आउने र नेपालबाट पनि सहकारी प्रतिनिधिहरूको टोली बंगलादेश जाने अभ्यास रहेको छ।
दुई देशका सहकारी संस्थाहरूको सञ्चालन पद्धति, व्यवस्थापकीय अनुभव, संस्थागत क्षमता विकास तथा सदस्यकेन्द्रित सेवासम्बन्धी अभ्यासलाई नजिकबाट बुझ्ने अवसरका रूपमा यस्ता भ्रमणलाई लिने गरिएको छ।
नेफ्स्कून र CCULB बीच सन् २००५ देखि पारस्परिक अध्ययन भ्रमणको सहकार्य हुँदै आएको छ। यस वर्षको भ्रमणले उक्त सहकार्यलाई थप निरन्तरता दिएको छ।
द को-अपरेटिभ क्रेडिट युनियन लिग अफ बंगलादेश लिमिटेड (CCULB) बंगलादेशका क्रेडिट युनियनहरूको केन्द्रीय छाता संगठन हो। सन् १९७९ मा तत्कालीन बृहत्तर ढाका क्षेत्रका ११ वटा प्रारम्भिक क्रेडिट युनियनको सहभागितामा स्थापना भएको यो संस्था सन् १९८६ मा बंगलादेशको सहकारी विभागमा दर्ता भएको हो।
CCULB ले सदस्य क्रेडिट युनियनहरूको क्षमता विकास, तालिम, लेखा तथा लेखापरीक्षण सेवा, संस्थागत विकास, सदस्य विस्तार र सहकारी अभियानको प्रतिनिधित्वलगायतका क्षेत्रमा काम गर्दै आएको छ।
नेपाल र बंगलादेशका केन्द्रीय सहकारी संघहरूबीचको नियमित अध्ययन अवलोकन भ्रमणले दुवै देशका संस्थाहरूलाई एकअर्काका अनुभवबाट सिक्ने, असल अभ्यास पहिचान गर्ने र सहकारी अभियानबीचको सहकार्यलाई थप सुदृढ बनाउने अवसर प्रदान गर्दै आएको छ।
८ दिन अगाडि
९ दिन अगाडि
१० दिन अगाडि
१० दिन अगाडि
११ दिन अगाडि
११ दिन अगाडि
११ दिन अगाडि
११ दिन अगाडि
१४ दिन अगाडि
१५ दिन अगाडि
१४ दिन अगाडि
१३ दिन अगाडि
११ दिन अगाडि
७५ दिन अगाडि
७४ दिन अगाडि
४८ दिन अगाडि