काठमाडौं । बचत तथा ऋण सहकारी अभियानमा प्रविधिगत एकरुपताका लागि पहिलो पाइलाका रुपमा कार्तिक २६ गते, आज मिरा सफ्टवेयर को प्रारम्भिक शुरुवात भएको छ । साकोस अभियानको मार्गदर्शकको रुपमा रहेको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) र प्रविधिको क्षेत्रमा अब्बल कम्पनीको रुपमा परिचित रारा डिजिटल ल्याब्स प्रा.लि.को सहकार्य साथै नियोसिस टेक्नोलोजी प्रा.लि.को सक्रियतामा निर्माण भएको Myra ERP को सफ्ट लञ्च भएसँगै कार्यान्वयनको चरणमा प्रवेश गरेको छ ।
मिरा ईआरपी सफ्टवेयरको सफ्ट लञ्च कार्यक्रमको उद्घाटन प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले गर्नुभएको थियो । नेफ्स्कूनकी उपाध्यक्ष एवम् ईआपी निर्माण दिर्नेशक समितिकी अध्यक्ष शान्ति अधिकारीको अध्यक्षता, नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको विशिष्ट आतिथ्यतामा कार्यक्रमको उद्घाटन भएको थियो ।
प्रमुख अतिथि मिनराज कडेलले सहकारी क्षेत्रमा सबैभन्दा ठूलो हिस्सा ओगटेको बचत तथा ऋण सहकारी अभियानलाई मर्यादित, सुव्यवस्थित र सुशासित बनाउनका लागि प्रविधिगत एकरुपता अनिवार्य रहेको र त्यसका लागि मिरा सफ्टवेयर सहकारी क्षेत्रमै एक महत्वपूर्ण उपलब्धि सावित हुने विश्वास आफूले लिएको बताउनुभयो ।
वित्तीय कारोबार र सदस्य संख्याको हिसाबले साना देखि ठूलो रुपमा सञ्चालित सम्पूर्ण सहकारीहरुको वित्तीय सुशासन र पारदर्शीताका लागि नेफ्स्कूनको पहलमा शुरु यस सफ्टवेयरले प्रतिष्पर्धी सेवाहरुको विकास गरी व्यावसायिक भन्दा सेवा भावका हिसावले काम गर्न सकोस् भन्दै मिरा ईआरपी कार्यान्वयन सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
मिरा को सफ्ट लञ्चसँगै प्रमुख अतिथि र विशिष्ट अतिथिबाट सफ्टवेयरको प्रमोशनल पेज र लोगो सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा नेफ्स्कूनका सञ्चालक सदस्य न्हुच्छे नारायण श्रेष्ठ, मन्दरा मिश्र, संघका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल, नियोसिस टेक्नोलोजी प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत डा. भोजराज घिमिरे, रारा ल्याब्स प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे, नेफ्स्कून साकोस म्यानेजर्स क्लबका अध्यक्ष दिपक बस्नेत, संघका उच्च व्यवस्थापन कर्मचारीहरु लगायत नेफ्स्कून, नियोसिस प्रालि र रारा ल्याब्स प्रालिका प्राविधिक कर्मचारीहरको उपस्थिति रहेको थियो ।
Myra ERP को Development, Progress र Process बारे नियोसिस टेक्नोलोजी प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत डा. घिमिरेले प्रस्तुतीकरण गर्नुभएको थियो भने रारा ल्याब्स प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरेले Myra ERP सफ्टवेयरका प्राविधिक विषयहरुबारे जानकारी गराउनुभएको थियो ।
नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले वित्तीय सहकारीले छुने अन्तिम विश्वव्यापी मुद्दा भनेको डिजिटल क्रान्ति रहेको र यसका लागि डिजिटाइजेशन, डिजिटलाईजेशन, डिजिटल ट्रान्फरमेशन र डिजिटल एनालाईसिस वरिपरि नियामक ढाँचालाई सुदृढ गर्नुपर्ने आवश्यकता रहेको औल्याउनुभयो ।
उहाँले नेफ्स्कूनले सदस्यको वीचमा वित्तीय प्रविधिको प्रयोग, सेवा र उत्पादनको लागत घटाएर सञ्चालनलाई सुव्यवस्थित वा सदस्य अनुभव सुधार गरेर मुल्य अभिवृद्धि गर्न स्वचालित विद्युत्तीय प्रविधिको अपरिहार्यता बढेर गएको स्पष्ट पार्नुभयो ।
सदस्यहरुलाई सम्पूर्ण वित्तीय समाधान दिन 4D vs 4D का चरणहरु उल्लेख गर्दै वित्तीय शिक्षा, साक्षरता र समावेशीकरणका विषयलाई भुँइतहसम्म लिएर जानुपर्ने बताउनुभयो ।
नेफ्स्कूनका सञ्चालक न्हुच्छे नारायण श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै सदस्यका सुख दुखका आवश्यकता पुरा गर्न गठित बचत तथा ऋण सहकारी अभियानको विकास र सुदृढीकरणका साथै सुरक्षित र मर्यादित वित्तीय सेवा विस्तारका लागि प्रविधिगत एकरुपता प्रदान गर्ने उद्देश्यसहित ल्याइएको मिरा सफ्टवेयले सहकारीको सम्पूर्ण वित्तीय समाधान एकठाउँबाट दिनेछ भन्ने विश्वास रहेको बताउनुभयो । कार्यक्रमको सञ्चालन नियोसिस टेक्नोलोजी प्रालिका प्रमुख कार्यक्रम अधिकृत कवि न्यौपानेले गर्नुभएको थियो ।
नेफ्स्कून साकोस म्यानेजर्स क्लबका अध्यक्ष दिपक बस्नेतले समग्र बचत तथा ऋण सहकारी अभियानको प्रतिनिधित्व गर्दै मिरा ईआरपी सफ्टवेयर वास्तवमै साकोसको सम्पूर्ण वित्तीय समाधानको माइस्टोल बन्नुपर्छ भन्ने धारणा व्यक्त गर्नुभयो । उहाँले सफ्टवेयरमा रहेका सम्पूर्ण फिचरहरु सहज, सरल, सबैको पहुँचयोग्य साथै पर्याप्त प्राविधिक सपोर्ट सहित अगाडि बढोस् भन्ने शुभकामना सहित अभियानका लागि मिरा सफ्टवेयर स्वागतयोग्य रहेको बताउनुभयो ।
कार्यक्रमको समापन गर्दै सभाध्यक्ष अधिकारीले ठूलो चुनौतिका बीच नेफ्स्कूनले पहल गरेको सफ्टवयेर सोलुसनको काम तोकिएको समयमै शुरु गर्न सकिएको भन्दै रारा ल्याब्स प्रालि र नियोसिस टेक्नोलोजी प्रालि धन्यवादको पात्र रहेको बताउनुभयो । उहाँले प्रविधिको विषय आफैमा जटिल र चुनौतिपूर्ण रहेको भएपनि कमी कमजोरीहरु सुधार गर्दै मिरा ईआरपी सफ्टवयेर पूर्ण कार्यान्वयनमा जाने र बचत ऋण सहकारी अभियानमाझ एकै ठाउँबाट सम्पूर्ण वित्तीय समाधानका लागि अब्बल रहने विश्वास व्यक्त गर्नुभयो ।
पूर्ण रुपमा Software as a Service (SAAS) मोडलमा निर्माण गरिएको मिरा ईआरपी सफ्टवेयरले कार्तिक २६ गते २६ वटा साकोसहरुको तथ्यांक मा माइग्रेट गरी सञ्चालनको सुरुवात गरिएको जनाएको छ भने आगामी दिनमा क्रमशः अरु सहकारीहरुमा पनि सेवा विस्तार गर्दै लगिने जनाएको छ । सफ्टवेयरको न्यूनतम बार्षिक मूल्य रु. १६ हजार तय गरेको छ ।
सफ्टवेयरमा हाल निम्न मोडुलहरु उपलब्ध रहेको जनाएको छ ।
सदस्य तथा शेयर व्यवस्थापन
बैेंकिङ प्रणाली व्यवस्थापन
लेखा व्यवस्थापन
मौज्दात व्यवस्थापन
मोबाइल बैंकिङ ताथ इबैंकिङ व्यवस्थापन
यससँगै अन्य थप मोडुलहरु पनि उपलब्ध गरिने जनाएको छ । जस अन्तर्गत गुणस्तर आश्वासन, पर्यवेक्षण र अनुगमन, व्यापार बुद्धिमत्ता र रिपोर्टिङ, मानव संशाधन प्रशिक्षण र क्षमता व्यवस्थापन, व्यापार प्रक्रिया व्यवस्थापन, अनुपालन व्यवस्थापन, कागजात व्यवस्थापन, स्थिर सम्पत्ति व्यवस्थापन अन्य मोडुलहरुको रुपमा रहेको नियोसिस टेक्नोलोजिका प्रमुख कार्यकारी अधिकृत घिमिरेले जानकारी गराउनुभयो ।
त्यसैगरी मिरा ईआरपी सफ्टवेयरको मुख्य विशेषताहरुमा सेवाको रुपमा सफटवेयर प्रयोग गर्न सकिने, सफ्टवेयर राख्न र प्रयोग गर्न छिटो हुने, सुरक्षा, गोपनीयता र तथ्यांक भण्डारमा सहज, साझा प्रविधि, सहकारीहरु एकअर्कासँग जोडिने, बैज्ञानिक मूल्य निर्धारण, कोपोमिसमा सहज तथ्यांक प्रविष्टि, प्रयोगकर्ताहरुलाई चलाउन सजिलो, टिटिआर र एएमएल रिपोर्ट, अंग्रेजी र नेपालीमा उपलब्ध, २४ सै घण्टा प्राविधिक सहयोग उपलब्ध हुने रहेको कम्पनीले जनाएको छ । यो सफ्टवेयर ISO 27001:2013 को Certification पक्रियामा रहेको र छिटै प्राप्त हुने जानकारी समेत गराएको छ ।
६ मिनेट अगाडि
३३ मिनेट अगाडि
१ घण्टा अगाडि
२२ घण्टा अगाडि
२२ घण्टा अगाडि
२३ घण्टा अगाडि
२३ घण्टा अगाडि
२३ घण्टा अगाडि
६ मिनेट अगाडि
२ दिन अगाडि
३३ मिनेट अगाडि
५ दिन अगाडि
३ दिन अगाडि
५ दिन अगाडि
९ दिन अगाडि
२२ घण्टा अगाडि