काठमाडौं । नेफ्स्कूनको आयोजनामा बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोषको आ.व. २०७८/०७९ का लागि नीति कार्यक्रम तथा बजेट निर्माण कार्यशाला आज काठमाडौंमा सम्पन्न भएको छ ।
कार्यशालामा कोषले चालु आ.व. को प्रस्तावित नीति तथा कार्यक्रम अन्तर्गत २०७५ को नियम ७४ को उपनियम ४ बमोजिम आवश्यक रकम पुरा गरी उपलब्ध कानुनी वातावरणको आधारमा कोष खडा गरिने, विषयगत मन्त्रालय तथा सहकारी विभागसँग समन्वय गरी कोष सञ्चालनमा जोड दिइने, स्थिरीकरण कोष स्थापना तथा सञ्चालन कार्यविधि सापटी कार्यक्रम शुरुवात गरिने, कोषको लेखा, सहभागिता, सापटी र जोखिम व्यवस्थापन गर्नका लागि आवश्यक प्रविधि विकास गरिने लगायतका प्रस्तावित विषयहरुमाथी छलफल गरेको छ ।
त्यसैगरी कोषमा आबद्धता प्रवर्धन गर्न अभिमुखीकरण तथा प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिने, कोष व्यवस्थापन प्रभावकारी सञ्चालनका लागि आवश्यक मानव संशाधनको व्यवस्थापन गरिने, योगदानकर्ता साकोसहरुको अनुगमन प्रणाली विकास गर्ने, कोषमा योगदान गर्ने साकोसका प्रतिनिधिहरुसँग र सरोकारवाला निकायसँग कोषको भावी कार्यदिशाबारे समय समयमा विचार विमर्श गर्ने लगायतका प्रतावित नीति तथा कार्यक्रम उपर छलफल गरेको थियो ।
नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको अध्यक्षतामा आयोजित कार्यशालामा संघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, स्थिरीकरण कोष सञ्चालन समितिका सदस्यहरुः भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रतिनिधि टिका बहादुर कुँवर, नेपाल राष्ट्र बैंकका प्रतिनिधि रामकाजी खाईजु, सहकारी विभागका प्रतिनिधि टोलराज उपाध्याय, राष्ट्रिय सहकारी विकास बोर्डका प्रतिनिधि अनिलराज पौडेल, राष्ट्रिय सहकारी महासंघका प्रतिनिधि चित्राकुमारी थाम्सुहाङ्ग, कोषका सदस्य सचिव एवम् नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल लगायत नेफ्स्कूनका विभागीय प्रमुखहरु र विभागीय कर्मचारीहरुको उपस्थिति थियो ।
नेफ्स्कूनका अध्यक्ष एवम् स्थिरीकरण कोष सञ्चालन समितिका अध्यक्ष परितोष पौड्यालले कार्यशाला समापनका अवसरमा बोल्दै समग्र अभियानको जगेडा कोषको रुपमा रहेको स्थिरीकरण कोष सञ्चालनले छिट्टै पूर्णता पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले कोष सञ्चालनका लागि आवश्यक प्रारम्भिक विषयहरु टुङ्गिएको र ऐनले तोकेबमोजिमको अपुग रकम व्यवस्थापनका लागि विभाग र विभागीय मन्त्रालय मार्फत सहजीकरण गर्ने विषय अन्तिम टुङ्गोमा पुगेको बताउनुभयो ।
उहाँले कोष सञ्चालनको प्रक्रियाले पूर्णता पाएसँगै भौतिक उपस्थिति सम्भव नभएपनि केही समयको अन्तरालमा भर्चुअल कार्यक्रम मार्फत सम्पूर्ण योगदानकर्ता सदस्य, संघ संस्था र सरोकार निकाय सहितको उपस्थितिमा कोष सञ्चालनको औपचारिक घोषणा हुने जानकारी गराउनुभयो ।
कार्यशालामा संम्बोधन गर्दै संघका बरिष्ठ उपाध्यक्ष एवम् प्रवक्ता चन्द्र प्रसाद ढकालले साकोस अभियानको सुरक्षा कवचको रुपमा रहेको स्थिरीकरण कोष यही आर्थिक बर्षभित्रै पूर्ण रुपमा कार्यान्वयनमा आउने प्रष्ट पार्नुभयो । स्थिरीकरण कोषमा करिब ७ करोड रकम जम्मा भइसकेको र बाँकी रकम व्यवस्थापनका लागि विभागमार्फत मन्त्रालय समक्ष छलफल अगाडि बढेकोले कोष सञ्चालनमा ढिलाई नहुने दाबी गर्नुभयो । उहाँले चालु आ.व. २०७८÷०७९ का लागि नीति कार्यक्रम तथा बजेट निर्माणको प्रक्रियामा आयोजित कार्यशालाले कोषलाई फुल फङ्सनमा जान मार्गप्रशस्त गर्ने धारणा व्यक्त गर्दै कोषको सञ्चालनबाट तरलता अभावको विद्यमान समस्या समाधानका लागि समेत सम्बोधन हुनसक्नेमा जोड दिनुभयो । कोषमा हालसम्म १७९ साकोसहरुबाट ७ करोड बढी योगदान रकम संकलन भएको छ ।