काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) र पोखरा विश्वविद्यालयबीच सहकारी क्षेत्रको अनुसन्धान, पाठ्यक्रम विकास तथा लागु गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । नयाँ बानेश्वरमा आज साँझ आयोजित एक कार्यक्रमका बीच नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल र पोखरा विश्वविद्यालयका डीन डा. दयाराज ढकालबीच उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको अध्यक्षतामा भएको हस्ताक्षर कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेम नारायण अर्याल, रजिष्ट्रार डा. दीपक भण्डारी, डिन डा. दयाराज ढकाल, व्यवस्थापन विषय समितिका अध्यक्ष प्रा.डा. महानन्द चालिसे, सह–प्राध्यापक डा. रविन्द्र घिमिरे र नेफ्स्कूनको तर्फबाट सञ्चालक समिति सदस्य न्हुच्छेनारायण मिलन श्रेष्ठ, रिना आचार्य, जीवसराज खड्का, नेफ्स्कून फिल्ड व्यवस्थापन उपसमिति सदस्य ठाकुर प्रसाद बास्कोटा, कास्कूनका बरिष्ठ उपाध्यक्ष खेम सुवेदी, नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल लगायत विभागीय प्रमुखहरुको उपस्थिति थियो ।
पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेम नारायण अर्यालले नेफ्स्कूनसँगको सहकार्यका लागि आज भएको सम्झौताबाट वास्तवमै एउटा नयाँ अध्यायको सुरु भएको बताउनुभयो । देशमा नयाँ कुरा ल्याउने सृजनशिल पाठ्यवस्तुको आवश्यकता रहेको र यसबाट भोलिको दिनमा खोज अन्वेषणमुलक काम गरेर अत्यन्त सफल र प्रभावकारी कार्यक्रम सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो ।
वास्तवमा देश विकासको नयाँ अभियानमा पोखरा विश्वविद्यालय लागेको छ । उहाँले भन्नुभयो, “आज मात्रै उद्यमशिलता विकास र उद्यमशिलता स्रोत सम्बन्धमा तीनवटा सम्झौता भएका छन्, आज विद्यार्थीहरु पढेर सकेको भोलिपल्ट जागिरका लागि लोकसेवा भिड्ने तयारी गर्छन्, पोखरा विश्वविद्यालय त्यो काम गर्दैन । हामी विद्यार्थीले पढेर सिध्याउने बेलामा आफै केही गरोस्, केही नयाँ कुरा ल्याओस्, छुट्टै ज्ञान र सीप विकास होस् भन्ने कुरा सिकाउँछौं ।”
नेफ्स्कून र विश्वविद्यालयबीच अगाडि बढेको आजको यस कार्यक्रम कार्यान्वयमा म निरन्तर घच्घच्याउने छु, उहाँले भन्नुभयो, “सम्झौता गर्ने र छोड्ने कुरामा यो विषय पर्दैन, म प्रत्येक तीन तीन महिनामा यसको प्रगति प्रतिवेदनका लागि आव्हान गर्छु । मलाई लाग्छ यो कार्यक्रम अत्यन्तै सफल र लोकप्रिय भएर जानेछ ।”
अव जागिर खोज्ने जनशक्ति होइन देशलाई जागिर दिने जनशक्ति खाँचोपरेकोले एउटा सृजनशिल व्यक्तित्व विकासको खाँचोलाई पुरा गर्न सहकार्य गरौं, उहाँले जोड्नुभयो, नेफ्स्कूनलाई के कस्तो कार्यक्रम कसरी दिनुपर्छ त्यसका लागि पनि छलफल गरौं र हामी भोलिदेखिनै सहकारीको पाठ्क्रम कस्तो बनाउने हो, त्यसको कोर्ष निर्माणमा जुटौं । अवको पुुस्ता आफ्ना लागि रोजगारीको खोजि गर्ने नभएर रोजगारी सृजना गर्ने शक्ति बनोस् भन्ने चाहाना विश्वविद्यालयको रहेको उहाँले दावी गर्नुभयो ।
नेपालको पश्चिमाञ्चलको पोखरा शहरमा अवस्थित पोखरा विश्वविद्यालयमा ३२ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने यसका चार आंगिक, देशभर ५८ सम्बन्धन प्राप्त र ४ संयुक्त आंगिक महाविद्यालयहरु सञ्चालनमा रहेका छन् ।
नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले धेरैवटा विषयहरुका बीचमा आज पोखरा विश्वविद्यालयसँगको साझेदारी परिणाममुखी बन्ने विश्वास व्यक्त गर्नुभयो । खोज अनुसन्धान, सृजना र नवसृजनाको पहिलो पाईलाको रुपमा आजको कार्यक्रम अगाडि बढेको चर्चा गर्दै उहाँले समझदारी मात्र नभएर पोखराको ठूलो ज्ञानको गुरुकुलसँग जोडिएको र यसले रणनीतिक साझेदारी मार्फत समुदायकेन्द्रीत वित्त प्रणालीमा विचार, प्रविधि, सृजना र नवसृजना ल्याउन सकिनेमा जोड दिनुभयो ।